मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा मध्यरातमा भिषण आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन कच्ची घर भत्काउन ुपरेको छ । दमकल नभएका कारण आगोलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले जनाएका छन् । आगो करीव ४ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको हो । गतराती साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको हो । रातभर स्थानीय र सुरक्षाकर्मी आगो नियन्त्रणमा खटिएका थिए ।
आगो साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ । आगलागीमा मानवीय क्षति नभएको समेत बताइएको छ । धनमालको क्षतिको विवरण संकलन भइरहेको छ ।