बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनहरु जारी छन् । यस दौरान विभिन्न जिल्लामा दुई गूट बीचमा हिंसात्मक झडप भएका खबर आएका छन् । प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले रबरको गोली चलाएको छ । दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन अरु ग्यास र गोली चलेको प्रहरीले जनाएको छ । त्यहाँ विष्णुकुमार गिरी र शिव रिजालबीच जिल्ला सभापतिका लागि भएको मतदानको गणना भइरहेको थियो ।
मतगणनामा गिरीले अग्रता लिएपछि देउवा पक्षका युवाले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेपछि झडपको स्थिति आएको गिरी पक्षको आरोप छ । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएको खबर छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार जारी छ ।
उता, रुपन्देही क्षेत्र नम्बर २ को मत गणनास्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि मंगलबार आक्रमण भएको छ । रामचन्द्र पौडेल समूहबाट उम्मेद्वार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको बताइएको छ । मतगणना जारी रहेको अवस्थामा केसीमाथि आक्रमण भएपछि मतगणना समेत स्थगित भएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ ।