सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रथाबाट न्यायाधिशहरुको पेशी तोकिने भएको छ । विहान १० बजे सबै न्यायाधीश भेला हुने र गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात हुने गरि प्रक्रिया बनाइएको छ । यसअघि प्रधानन्यायाधीयको तजविजी अधिकारको आधारमा पेशी तोक्ने प्रचलन रहेको थियो । बुधबारदेखि शुरु हुने नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती भएको हो ।

अदालतहरूमा पेसी तोक्ने सम्बन्धमा भइरहेको कानूनी व्यवस्थामा संशोधन गरी स्वचालित पेसी सूची प्रणाली लागू गर्नुपर्ने र स्वचालित पेसी सूची प्रणाली लागू नहुँदासम्म अदालतहरूमा गोलाप्रथा’द्वारा पेसी व्यवस्थापन गर्न लामो समयदेखि माग समेत उठेको थियो । २०७८ साउन २४ गते सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने निर्णय समेत गरेको थियो ।