काठमाडौं । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोप लागेका मध्ये तीन जनामाथि दैलेख जिल्ला अदालतले जन्मकैद सुनाएको छ । नेपालमा सशस्त्र द्धन्द्धका बेला पत्रकार थापाको २०६१ साउन २७ मा जिल्लाको नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । सो क्रममा उनको ज्यान गएको थियो ।
दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जाने बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए । यो अभियोगमा संगल्न मूख्य आरोपीमध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीन जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको हो । रोपी दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ४१ वर्षीय खड्कालाई सजाय सुनाइएको छ ।
खड्कालाई दुई वर्षअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो । साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लु नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद भएको छ ।
मुल्तवीबाट जगाइएको कर्तव्यज्यानसम्बन्धी मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । युद्धकालीन समयमा घटना भएकोले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै यो घटनामा लामो समयदेखि मुद्दा चल्न सकेको थिएन । उनले रेडियो नेपालका लागि काम गर्थे ।