सिन्धुलीमा जंगली हात्तिको आतंक, एक सातामा दुई दर्जन घर भत्कायो

File Photo

सिन्धुली । सिन्धुलीमा जंगली हात्तिले आतंक फैलाएको छ । जिल्लाको दुधौली नगरपालिका–११, डुडेगैरीमा सोमबार राति जङ्गली हात्तीले थप चार घर भत्काएको प्रहरीले जनाएको छ । वडामा एक साता भित्र जङ्गली हात्तीले २८ घर भत्काइसकेको छ । वडा नं. ११ मा सोमबार राति तीनवटा जङ्गली हात्तीले डुडेगैरीको मुसहर समुदायका चार घर भत्काएको हो । हात्तिले अन्न र फलफूलसमेत नष्ट गरेको विवरण छ ।

सोमबार स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको घर भत्काएको स्थानीय प्रशासनले जनाएको छ । हात्ती बस्तीमा छिरेपछि स्थानीय भने भागेर ज्यान जोगाएका थिए । माथिल्लो पत्रिङ्गा र डुडेगैरीमा हात्तीले आतंक फैलाएको हो । चिसो मौसममा हात्तिले घर भत्काएपछि स्थानीयको विचल्ली भएको छ । सुरुमा घर भत्काएका १८ परिवारलाई शनिबार जिल्ला रेडक्रस शाखाले त्रिपाल, लत्ता कपडा, भाडा र दुधौली नगरपालिकाले खाद्यान्न सहयोग गरेको थियो ।