चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु

जनकपुर । पछिल्लो सातायता बढेको चिसो र शीतलहरले  धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उता चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको हो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।