काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न बिहान प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुगेका हुन् । भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी गराएका छन् । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको विषयलाई लिएर संसद् चल्न दिएको छैन ।
संसद्को बैठक पुस २८ गते बुधवारका लागि बोलाइएको छ । प्रधानमन्त्री देउवा र ओलीबीच भएको आजको भेटमा अमेरिकी सहायता परियोजना एमसीसी अगाडि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ । सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा नेकपा एमालेसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । गठबन्धन समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ओलीसँग छलफल गर्न प्रधानमन्त्री बालकोट पुगेका हुन् ।