काठमाडौं । आज पुस २७, देशभर पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस विविध कार्यक्रम आयोजना गरि मनाइयो । यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको सिंहदरबार अगाडी रहेको सालिकमा पुगेर माल्यार्पण गरेका छन् । माल्यार्पणपछि यो अवसर जुटाएकोमा राष्ट्रपतिले नेपाल सरकारसहित सबै सरोकारवालालाई धन्यवाद दिएकी छिन् ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वारबाहिर अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत मङ्गलवार नै माल्यार्पण गरे । उनी पुग्दा समर्थकले चर्को नाराबाजी गरेका थिए । यस पटक सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको जानकारी भने उनको सचिवालयले सोमवार नै दिएको थियो।
पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा शाहले एक विज्ञप्ति जारी गर्दै नेपाल विदेशीहरूको खेल मैदान बनेको समेत टिप्पणी गरेका थिए।
तत्कालीन गोरखा राज्यमा विक्रम संवत् १७७९ साल पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए।