आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिनमा हुने भएको छ । निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिका वावजुत निर्वाचन भने नरोकिने स्पष्ट पारेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने आयोगको भनाई छ । आयोगका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते हुने छ । राष्ट्रिय सभामा मतदान गर्ने मतदाता सङ्ख्या सीमित हुन्छ ।

यस्तो बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान गर्न सम्भव रहेको आयोगको निष्कर्ष रहेको छ । आयोगका अनुसार आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन् । सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन् । प्रदेश १ मा भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै ठाउँमा दुुईवटा मतदानस्थल रहनेछन् ।

राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ । सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन् । ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन् । राष्ट्रिय सभा सदस्यको मतदान, स्थानीय तहको निर्वाचनलगायतबारे छलफल गर्न शुक्रबार आयोगले सर्वदलीय बैठक बोलाइएको छ ।