धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता

File

धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता छन् । सेना, प्रहरी र स्थानीयले बिहीबार दिनभर खोजी कार्य जारी राखेपनि भेटाउन सकेनन् । उनीहरुको आज पनि खोजी शुरु भएको छ । जिल्लाको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा खसेको पहिरोले डोजर सहित उनीहरुलाई पुरेको हो । बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था नभएको र मानिसले माटो पन्छाउदा खोजी कार्य कठिन भएको प्रहरीको भनाई छ । रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका छन् । बिहीबार हेलिकप्टरबाट नेपाली सेनाका मेजर नेतृत्वको उद्धारकर्मीको टोली पुर्याइएको थियो । सशस्त्र र नेपाल प्रहरीको टोली समेत पुगेर खोजी थालेका थिए ।