काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित भएका मतदाताले पनि मतदान गर्न सक्ने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । जसमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था गरी मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको छ ।
स्वास्थ्य सुरक्षासम्बन्धी नियममा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिन बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, सङ्क्रमित भएर आएका मतदातालाई निसङ्क्रमित गरेर छुट्टै बक्सामा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायतका विषय उल्लेख छ । माघ १२ मा राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतादाता रहनेछन् । आयोगले सात वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ । कोरोना महामारी जोखिमका बीच आयोगले स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गर्ने भएको छ ।