काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट राजसंस्था र हिन्दु राष्ट्र नलेख्न निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाले पुस १० मा आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो। आयोगले २ माघमा राप्रपालाई निर्देशनात्मक पत्र पठाएको छ । जसमा विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनिएको छ ।
विधानको प्रस्तावनाको ४ मा उल्लेखिद सनातन हिन्दु राष्ट्र एवम राजसंस्थासहितको प्रजातन्त्रको मान्यता स्थापित गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएको भन्दै सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्न आयोगले राप्रपालाई भनेको छ ।
आयोगले राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह हटाउन समेत भनेको छ । नेपालको राष्ट्रिय झन्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाईलगायत राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनैलाई दिइएको भए पुनरावलोकन गर्ने निर्णय भएकाले झन्डाको मध्य भागमा गाई चिन्ह भन्ने वाक्यांश हटाउन भनिएको हो ।