काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका भित्र अध्ययन अध्यापनमा वैकल्पिक माध्यम प्रयोग गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न काठमाडौंका विद्यालयलाई महानगरपालिकाले निर्देशन दिएको हो । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिक रूपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो।
पुनःनिर्देशनको बेवास्था गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने सूचनामा उल्लेख छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्र रूपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको थियो ।
सरकाले निर्देशनको बेवास्था गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएपनि कामपाले पुनः सूचना जारी गरेको र फेरि बेवास्था गरे थप कारबाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। उपत्यकामा दैनिक सात हजार सङ्क्रमित देखिन थालेको सन्दर्भमा असुरक्षित बनेको छ ।