ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते अवार्ड

काठमाडौं । ढाकामा संचालन भएको फिल्म महोत्सवमा दुई नेपाली फिल्मले अवाडी जित्न सफल भएका छन् । बंगलादेशको ढाकामा ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ चलेको थियो । आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको छ ।

‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले जितेका हुन् । यस विधाको उत्कृष्ट चलचित्रको अवार्ड भने भारतको तमिल चलचित्र ‘पेब्बल्स’ले हात पारेको छ । ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । १७ विधामा प्रदान गरिएको अवार्ड समारोहका लागि ढाका पुगेका सुजित र किरण भने कोरोना संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।