काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) ले परिस्थितिको मूल्यांकन गरि २३ माघबाट विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्थाको समेत माग गरेको हो ।
प्याब्सन केन्द्रीय कार्यसमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर २३ गतेदेखि खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न, आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने, पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको केन्द्रीय अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।
विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको भन्दै कोरोना संक्रमण दर यही दरमा रह्यो भने त्यो सम्भव नहुने उनको भनाई छ । संक्रमण घटेको अवस्थामा खोप लगाइसकेका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग प्याब्सनको छ ।
सरकारले यथाशक्य चाँडो पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न, शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको छ । प्याब्सनको काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला समिति तथा नगरसमितिहरु गरी १८ वटा कार्यसमितिले तीन वटै जिल्ला प्रशासन कार्यलयमा १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।