स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

File RSS

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने सहमति सत्तारुढ दलमा जुट्दै गएपछि आज मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिइसकेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को प्रावधान छ । शुक्रबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफलमा यसबारे अनौपचारिक सहमति जुटेको बताइएको छ ।