काठमाडौं । भारतमा बीना सुनुवाई ४१ वर्ष जेल जिवन काट्न बाध्य भई गत वर्ष नेपाल र्फकन सफल दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । भारतको जेलमा बिना सुनुवाई ४१ वर्ष जेल सजाय काटेका उनी घर आएसँगै आमाको मुहारमा खुसी फर्किएको थियो । तिम्सिनाकी आमा धनमाया ८७ वर्षकी थिइन् । धनमायाको आइतबार बिहान निधन भएको नाति गोपाल तिम्सिनाले संचारमाध्यमलाई जानकारी गराएका छन् ।
इलामको माई नगरपालिका–१० लुम्बाकस्थित गाउँमा धनमायाले आफ्नो छोरालाई ४१ वर्षपछि ८ चैत २०७७ देखेकी थिइन् । दुर्गाप्रसाद मानसिक रुपमा विक्षप्त छन् । उनी अझै पूर्णरुपमा स्वस्थ भइसकेका छैनन् । छोरासँग खुलेर कुरा गर्ने आमाको धोको भने अधुरै रहेको छ । २०२४ सालमा श्रीमानको मृत्यु भएको थियो । दुर्घटनामा परेर उनको एउटा हात काट्नुपरेको थियो ।
कामको खोजीमा दुर्गाप्रसाद परदेश भासिएपछि जीवनको लामो अवधि धनमायाले अभाव र पिर चिन्तामा गुजारेकी थिइन् । कामको खोजीमा दार्जिलिङ गएका दुर्घ प्रसाद भने हत्या अभियोगमा पक्राउ परे । तर उनको पक्षमा बहस गरिदिने कोही भएन । सोहीकारण उनी जेलमा बीना सुनुवाई ४१ वर्ष रहनु पर्यो । वेस्ट बंगाल रेडियो क्लबमा उनीबारे समाचार आएपछि उनको रिहाईको बाटो खुलेको थियो ।