आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि बन्द भएका विद्यालयहरु आइतबार भौतिक उपस्थितिमै खुल्ने भएका छन् । कोरोनाको तेस्रो लहरका कारण विद्यालय एक महिनादेखि बन्द थिए । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जान पाउने भएका छन् । १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्नेछ ।

१२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसले गर्दा उनीहरुलाई आलोपालो गरेर पठनपाठन गर्ने सरकारले निर्णय गरेको हो ।

१२ वर्षमुनिका बालबालिकालाई पनि खोप दिन तयारी भइरहेको छ । गत साता कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।