रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

काठमाडौं । नेपाली साहित्वमा ताना शर्मा नामबाट परिचित तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान निधन भएको हो । इलाममा जन्मिएका उनी काठमाडौंमा सक्रिय रहे । काठमाडौँस्थित उनको निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखन कृतिमा उनको योगदान ठूलो छ । प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं १९९१ असार ९ मा भएको हो । अङ्ग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गरेका उनी मदन पुरस्कार, साझा पुरस्कार लगायतबाट सम्मानित छन् ।

उनको ‘बेलाइततिर बरालिँदा’ नामक कृतिले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । ‘सम र समका कृति’ ले २०२९ सालमा साझा पुरस्कार पाएको हो । विसं २०२३ मा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत उनले पाए । यनले २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा निबन्ध लेखन थालेका थिए ।

अध्ययनका सिलसिलामा भारतको खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकालेका उनले ‘हिमध्वनि’ पत्रिकाको सम्पादकसमेत रहेर काम गरेका थिए । प्रकाशित मध्ये उनको अन्तिम कृति ‘चरी भरर’ निबन्ध सङ्ग्र्रह हो ।