जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर मङ्गलवार एक जनाको ज्यान गएको छ ।
देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आगो निभाउने क्रममा बोहोराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी गराएका छन् । घाइते मनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा सामान्य उपचार गरी प्रभु एअरको हेलिकप्टरबाट थप उपचारका लागि पोखरा रेफर गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।