काठमाडौं । पछिल्लो केही दिनयता अभिनेता राजेश हमाल काठमाडौंको मेयर उठ्दैछन् भन्ने चर्चा समाजिक संजालमा चुलिएको छ । केही विद्यार्थी नेताले त उनलाई सार्वजनिक रुपमै राजनीतिमा आउनु अगाडी यसबारे पढेर आउन समेत चूनौति दिए । केही मानिसहरु भने उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा एमालेबाट मेयर उठ्न लागेको सम्म लेख्न भ्याए । उता, स्वयमः हमालले भने मेयर उठ्ने प्रसंग व्यग्यात्मक रुपमा मात्र आएको स्पष्टिकरण दिन्छन् ।
काठमाडौं सहरको अव्यवस्थाबारे व्यंग्य गर्न ‘काठमाडौंको मेयर बन्नुपर्छ कि क्या हो’ मात्र भनेको उनको भनाई छ । शुक्रबार आफ्नो एकल स्वर रहेको गाउँले ठिटो गीत सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मेयरको चर्चा आफूले व्यग्ंयात्मक रुपमा प्रसंग उठाएपछि चुलिएको उनको भनाई छ । काठमाडौंको सौन्दर्यीकरणमा कसैले पनि ध्यान नदिएको भन्दै उनले आफूले यसतो व्यंग्य गरेको स्पष्ट पारे ।
हमाल भन्छन्, ‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ ।’