इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितको प्यानल विजयी भएको छ । एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसको दुई प्यानल थियो। कांग्रेसका दुईसहित पाँच प्यानलबीचको भिडन्तमा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवार विजयी भए । अध्यक्षमा ३७३२ मतसहित गुल्मीका हरिबहादुर दर्लामी निर्वाचित भए । सिडेनबाट दिलिपकुमार झा सुमेत अध्यक्षको प्रत्यासी थिए । उनी कांग्रेसका बागी उमेदरवार हुन् ।

दर्लामीले नेकपा एमालेनिकट प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपालबाट अध्यक्षमा उठेका सुरज लामिछाने, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन नेपाल, नेकपा एकीकृत समाजवादीनिकट इन्जिनियरिङ नेपाल सिन र जसपानिकट नेपाल इन्जिनियरिङ संघबाट संयुक्त रूपमा उठेका हरिराम पराजुली, नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालका राजेन्द्रप्रसाद हाडालाई पराजित गर्न सफल भए ।

एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू र परिषद सदस्यका लागि चुनाव भएको छ । उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी, सहकोषाध्यक्षमा दीपक अधिकारी निर्वाचित भए ।