चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावबाट माधव नेपालहरु समाप्त हुने दावि गरेका छन् । कांग्रेसलाई पनि १३ सिटमा खुम्च्याउने भन्दै कार्यकर्तालाई निर्वाचनमा होमिन ओलीले निर्देशन दिएका छन् । ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेस र माओवादीलाई भोट नहाल्ने उनको दाबी छ । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो दावि गरेका हुन् ।

ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको दावि गरे । ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही, अहिले चौथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ। अरूको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसीदिएको जुँगामा ताउ लाउँछ,’ उनले भने, यो गठबन्धन केही होइन। बुढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ ।’ अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनको दावि छ ।