विराटनगर । यौन दुर्व्यवहारको आरोप लागेका एक शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक महिला प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको पुष्टि स्थानीय संचारमाध्यमले गरेका छन् ।
कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरका एसपी नविन राईलाई उद्तृत गर्दै संचारमाध्यमले लेखेका छन् ।
यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी पुगेको हो । प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।
त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेपछि उपचारका लागि लगिएको थियो ।
पौडेलले गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भिडले आक्रमण गरेको थियो
आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेको हो ।