प्रधानमन्त्री देउवा आज मोरङसहित प्रदेश नं १ का तीन जिल्लामा पुग्दै

File

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले देश दौडाहा जारी राखेका छन् । यसक्रममा उनी सोमबार पूर्वी नेपालका तीन जिल्लाको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनी मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि मोरङ पुग्ने छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् ।

सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ जाने कार्यक्रम राखिएको छ । प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट प्रहरीको ज्यान गएपछि सो जिल्लामा सुरक्षा व्यवस्थामाथि अझ निगरानी बढाइएको छ । प्रधानमन्त्री भने चुनावी रणनीति अनुसार स्थानीय तहमा भवन शिलान्यासमा सक्रियता बढाएका छन् ।