चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

काठमाडौं । काठमाडौंको चन्द्रागिरिका दुई घरमा बाढी पस्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सो क्रममा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति भएको उनले बताए।


बाढी पसेको खबरपछि अपराह्न ५ बजे प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयसहित २० जनाको टोली र सेनाको टोली खटिएको थियो। बाढीमा फसेका मानिसको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढीका कारण जस्तापाताले छाएको घरमा पूर्ण रूपमा क्षति पुगेको छ। सो घरमा रहेको दुई वटा कुखुरा, दुई तोला सुन लगायत गरी सात लाख बराबरको क्षति पुगेको छ । सोही ठाउँका पूर्णबहादुर थिङको एक तले घरमा पनि बाढी पसेको थियो। घरमा सामान्य क्षति पुगेको र १२ वटा कुखुरा बगाएको छ । त्यो घरमा एक लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।