बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले बताएका छन् । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्ताले हिर्काएको विषयमा विवाद झडपमा परिणत भएपछि समाजवादीका कार्यकर्ता गुहार माग्दै अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा पुगेका थिए । विवादले उग्ररुप लिएपछि उनीहरु अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा गुहार माग्न पुगेका थिए । अर्को समूहले उनीहरुलाई प्रहरी कार्यालयबाहिर आउने दबाव दिँदै प्रहरी चौकीमा नै आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हवाइ फायर र अश्रुग्याँस नै प्रहार गर्नुपर्ने अवस्था आएको बताइएको हो ।