गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनप्रति जनलहर देखेर विपक्षी दल आत्तिएको बताएका छन् । बुटवलमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गठबन्धनको तागतबाट डराएकाले विभिन्न भ्रम छरेको उनको आरोप छ । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्न सक्ने भन्दै उनले बुटवलमा यतिका वर्ष जितेर एमालेले केही नगरेको समेत बताए ।

विपन्न र सुकुम्बासीहरु सधैं भोट बैंक हुने कि आफ्नो समस्या सधैंका लागि समाधान गर्न आफ्नो भोट प्रयोग गर्ने भन्नेबारे सोच्नुपर्ने उनको भनाई छ । सभापति देउवाले कांग्रेसलगायत गठबन्धनका नेता कार्यकर्तालाई हौसला दिन र विकासको प्रतिबद्धता जनाउन आफू बुटवल आएको बउल्लेख गरे । गठबन्धनले जितेमा ५ वर्षमा देखिनेगरी विकास हुने उनको भनाई छ । प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासका लागि एमसीसी लगायतका सम्झौता गरेर परिवर्तनको सुरुवात भएको समेत उल्लेख गरेका छन् ।