मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाउने

काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाउने भएका छन् । मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम वा डटपेन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। साकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहेकाले सिसाकलमको प्रयोग नगर्न भनिएको हो ।

आयोगले सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ । सरकारले चुनावमा हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी खटाउने समेत जनाएको छ । मतदानस्थलमा हुने भिडभाडका कारण कोभिड सङ्क्रमण बढ्ने जोखिम रहेकाले स्वास्थ्य मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको हो ।