भरतपुर । नेकपा एमालेले आइतबारचितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्ने भएको छ । दुबै सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । चितवनमा क्याम्पाचौरमा दिउँसो १२ बजे सभा आयोजना गरिएको छ । सो सभालाई ओलीसहित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी छ ।
यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभा आयोजना गरेको थियो । गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको छ । भरतपुरमा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ दिनेछन् । बुटवलमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । बुटवलमा एमालेले बाबुराम भट्टराईलाई र सत्ता गठबन्धनले कांग्रेसका खेलराज पाण्डेलाई मेयर पदको उम्मेदवार बनाएका छन्