चुनावभर भारत र चीनसँगको सीमा नाका बन्द गरिँदै

काठमाडौं । ३० वैशाखको निर्वाचनलाई लक्षित गरि आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ । सीमा नाका निर्वाचन सम्पन्न भएपछि मात्र खुला हुने छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्द भएको सूचना जारी गर्नेछन् । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।अन्तर्राष्ट्रिय हवाई उडानभने सूचारु हुनेछ ।