मनाङ । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । यस क्रममा सबै स्थानीय तहको नतिजा आउने पहिलो जिल्ला मनाङ बनेको छ । यहाँ चार वटा गाउँपालिका छन् । मनाङमा नेकपा एमाले र नेपाली कांग्रेसले दुई÷दुई गाउँपालिका अध्यक्षमा जितेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भए । नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतसहित निर्वाचित भए ।
एमालेले चामे गाउँपालिकाको अध्यक्ष जित्यो । यहाँ लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भए । ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भए । चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा ३३५ मत ल्याएर विजयी भए । नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ विजयी भए । ङिस्याङ गाउपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ र नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भए ।