कांग्रेस र एमालेको पकड क्षेत्रकै वडामा समेत बालेनको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सानदार अग्रता लिइरहेका छन् । उनले ठूला पार्टी एमाले र कांग्रेसको प्रक्षेपण विपरित भोट ल्याएसँगै ठूला पार्टीका नेताहरु समेत हरेस खान थालेका छन् । आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता फराकिलो पारे । महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ ।

वडा नं १ मा बालेनले ७८३ मत ल्याए । जहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत पाए । वडा नं २ मा बालेनले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४९७ मत पाए । यी दुबै वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भए ।

वडा नम्बर १ का अध्यक्षमा निर्वाचित भरतलाल श्रेष्ठले ६२२ मत पाए, जुन स्थापितले पाएको भन्दा २५७ मत बढी हो । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन पाएकी कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत पाइरहेकी छिन् । उनलाई जाने भोट समेत बालेनले पाएको पाइएको छ ।


वडा नं १ मा कांग्रेसका वडाध्यक्षको उम्मेदवार किरण श्रेष्ठले ५९८, नेकपा माओवादी केन्द्रका अर्जुन महर्जनले ३८, एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले ३६ मत पाए । सोमबार मतगणना भइरहेको वडा नं ३, ४, ५, ६, ३१ र ३२ मा नेकपा एमालेले राम्रो मत आउने अनुमान गरेको थियो । एमालेको अनुमान अनुसार वडाध्यक्षका उम्मेदवारले अग्रता लिइरहेका छन्, तर मेयरका उम्मेदवार स्थापितले त्यस अनुसार मत पाउन सकेका छैनन् ।