सल्यान । निर्वाचनपछि आयोजित विजय जुलुस मनाउने क्रममा सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुल १५ जनालाई करेन्ट लागेकोमा दुई जनाको ज्यान गएको हो । कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल बुढामगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमित खड्कालाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । बसको छतमा पार्टीको झन्डा समातेर बसिरहेका यात्रुलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको थियो।