काठमाडौं । स्थानीय तह निर्वाचनमा शुक्रबार बिहानसम्म ६ सय १९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार २ सय नगरपालिका र ४ सय १९ गाउँपालिका गरी ६ सय १९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५१ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।
एमाले दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म ५७ वटा नगरपालिकाको मेयर र १ सय १३ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७० वटा पालिकाको प्रमुख पद जितेको छ । एमालेले ७५ वटा नगरपालिकाको उपमेयर, १ सय १६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९१ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमाले १ हजार ८ सय ८१ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।
नेकपा माओवादी केन्द्रले २० नगरपालिकाको मेयर र ९२ गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयर तथा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८२ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ । जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १५ वटा पालिकामा अध्यक्ष जितेको छ ।
जसपाले १३ वटामा उपाध्यक्ष र २ सय २८ वटामा वडाअध्यक्ष जितेको छ । स्वतन्त्र र अन्य दलले गरी ३३ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ३९ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका निर्वाचन आयोगले जनाएको छ।