हेटौडा । सत्तारुढ गठबन्धनको बलमा हेटौंडा उपमहानगरपालिकामा एमालेको ३० वर्ष पुरानो गढ भत्किएको छ । हेटौडाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनिया विजयी भएसँगै एमालेको गढ भत्किएको हो ।लामाले एमालेका अनन्त पौडेल र बाँनियाले एमालेकै सुमित्रा काफ्लेलाई पराजित गरे । लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर बनेकी थिइन् ।
पार्टी विभाजन पछि उनी समाजवादीमा आएकी हुन् । लामालाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट साथ थियो । मेयरमा लामाले २३ हजार ७५ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेका पौडेलले २० हजार ९ सय ८ मत पाए । उपमेयरमा बाँनियाले ३२ हजार ५ सय ९३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत पाइन् ।
हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो । हेटौडामा २०४९ सालदेखि एमालेले विजय हाँसिल गर्दै आएको थियो । २०७४ मा भएको निर्वाचनमा हेटौंडाको मेयर, उपमेयरसहित १२ वडामा एमाले विजयी भएको थियो । यस निर्वाचनमा एमालेले मात्र ९ वडाध्यक्ष मात्र जित्न सक्यो । अघिल्लो निर्वाचनमा ५ वटा वडाध्यक्ष जितेको कांग्रेसले ८ वडामा जित निकाल्यो । एकीकृत समाजवादी र माओवादी केन्द्रले एक, एक वडामा जिते ।