बालेन, स्थापित र सिर्जना बाहेक काठमाडौंको मेयरमा सबैको जमानत जफत

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन शाह, सिर्जना सिंह र केशव स्थापित बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ। उपमेयरतर्फ समेत यस्तै नतिजा आएको छ । स्वतन्त्र उम्मेदवार बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भए । उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याइन् । एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाए । तीन जना उम्मेदवारले मात्र काठमाडौंमा १० प्रतिशत मत कटाएका हुन् ।

आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीको १३ हजार ७ सय ७० मत आयो । यो यो कुल सदर मतको ८.६१ प्रतिशत थियो । उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत ल्याइन् । उपमेयरमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८ सय ६ मत पाए। काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो । तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भए।