मामाको हत्या आरोपमा भान्जा पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरमा भान्जाले मामाको हत्या गरेका छन् । बारीमा काम गर्ने क्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवि विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् । तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहारबाट गम्भीर घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रविलाई नियन्त्रणमा लिएर अनुसन्धान गइरहेको छ । काठमाडौंमा बस्ने रवि नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए । घर आएपछि रवि मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए ।