इन्धन नभएपछि श्रीलंकामा विद्यालय बन्दको घोषणा

कोलम्बो । चरम आर्थिक शंकटको सामना गरिरहेको श्रीलंकामा विद्यालय बन्दको घोषणा भएको छ । इन्धन अभावका कारण गाडी नै गुड्न नसक्ने अवस्था आएसँगै श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको हो । पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द हुने जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वास छ ।

ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको सार्वजनिक गरेका थिए । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ। श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो। सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित अधिकांश पेट्रोल पम्प बन्द गरिएका छन् ।