लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष

काठमाडौं । मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरी अनुसन्‍धानले देखाएको छ । प्रहरीले अनुसन्धान पुरी गरी मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको छ । प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठको संलग्नता देखिएको बताएको छ । सुनार ११ असारमा बिहान तार्केश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन्।

दिलमायाले आत्महत्या गरेको आशंकाका आधारमा अनुसन्धान अगाडी बढाएपनि उनको श्रीमान भनिएका श्रेष्ठलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको थियो । उनले फेसबुकमा लेखेको सुसाइट नोटसमेत श्रेष्ठले नै लेखिदिएको आशंका छ । अनुसन्धानको क्रममा सुनार र खिलबहादुर श्रेष्ठ सँगै बस्दै आएको खुलेको छ । उनीहरुले घरबेटीलाई श्रीमान-श्रीमती भएको बताएका थिए। श्रेष्ठले प्रहरीसँग आफू मध्यराती १२ बजेतिर निस्केको बताएका थिए।

तर, अनुसन्धानका क्रममा उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। साढे ४ बजे मात्र उनी घरबाट निस्किएका थिए । श्रेष्ठविरूद्ध दिलमायाका बुवाले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् । प्रहरीले घटनास्थलबाट दिलमायाको मोबाइल फोन अझै पनि भेटाएको छैन । प्रहरीले घटनामा प्रयोग भएको भनिएको सल काठमाडौंको महाराजगन्जस्थित कतार भिषा सेन्टर नजिक सडकको पश्चिम किनारको झाडीमा फेला पारेको थियो । यो उनै श्रेष्ठले फालेका थिए ।