हेटौडा । परीक्षाका लागि हल छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने दुई कर्मचारी हेटौंडा क्याम्पसबाट निलम्बनमा परेका छन् । बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्रामा दुर्व्यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ। ती कार्यालय सहयोगीहरू अबदेखि त्रिवि लगायतका कुनै परीक्षामा पनि सहभागी हुन नपाउने गरी निलम्बित भएका हुन्।
क्याम्पसले यस घटनाबारे छानबिन गर्न छानबिन समिति पनि बनाएको छ। क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको हो। समितिमा पाँच जना विद्यार्थी संगठनका प्रतिनिधिहरू र एक जना अभिभावक सदस्य छन्। तीन दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ। क्याम्पसको नियमित पठनपाठन, परीक्षा लगायतका कार्यक्रमहरू शान्तिपूर्ण एवं सहन वातावरणमा सञ्चालन गर्ने पनि सहमति भएको छ।
मंगलबारदेखि स्नातक तहको परीक्षा सुरू भएको थियो। त्यसक्रममा परीक्षा दिन गएका छात्राहरूमाथि कार्यालय सहयोगीहरूले चेक गरेका थिए। चेक गर्दा छात्राहरूलाई छुट्टै कोठामा लगेर कपडा खोल्न लगाएर दुर्व्यवहार गरेको खुलेको छ । त्यसरी दुर्व्यवहार गरेको खुलेपछि बुधबार बिहानै विद्यार्थी हेटौंडा क्याम्पसमा आन्दोलनमा उत्रिएका थिए ।