अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ । पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । गएराति १ बजेतिर पहिरो खसेको थियो । ओछ्यानमा सुतिरहेकाहरु पहिरोमा पुरिएका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।