सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो ।

आइतबार सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको थियो । घटनामा १२ जना घाइते भएका थिए ।

भक्तपुर नगरपालिका(२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, स्कुटर चालक सर्लाही हरिवन नगरपालिका ४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका-७ घर भई चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्योको रुखले च्यापेर मृत्यु भएको थियो। घाइतेहरूको इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार जारी छ ।