बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रहरीका अनुसार उनीहरुको मंगलबार बिहान हत्या भएको हो । हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता पुष्टी भएको हो ।

मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरिया आफ्नै घरको ग्यालरी र पालीमा मृत अवस्थामा भेटिएका थिए । उनीहरुको करिब १ वर्ष पहिला विवाह भएको थियो । अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा गडरियाका दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । दाइले योजनावद्ध रुपमा सुपारी दिएर भाइबुहारीको हत्या गर्न लगाएको खुलेको हो ।

उनका अनुसार केही महिनाअघि भाइ र बुबालाई उकासेर अञ्जलीले आफूलाई घरायसी विवादमा कुटपिट गराएको दाइ विजयकुमारको बयान छ । त्यही विषयलाई लिएर उनले १८ दिनअघि नै बुहारी अञ्जलीलाई मार्न सुपारी दिएका थिए । हत्या गर्ने क्रममा श्रीमान् कृष्णकुमार पनि आएपछि उनको पनि हत्या भएको देखिएको छ । उनीहरुको हत्या गर्न भारतबाट ५०\५० हजार रुपैयाँ दिएर दुई पेशेबर हत्यारा बोलाइएको समेत खुलेको छ ।