काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेछ । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका थिए ।
परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए, ७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस तथा ६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड दिइने छ । ५० र सोभन्दा माथि ६० भन्दा कम अंक ल्याउनेलाई सी प्लस र ४० र सोभन्दा माथि तर ५० भन्दा कम अंक ल्याउनेलाई सी ग्रेड दिइने राष्ट्रिय परीक्षा बोर्डले उल्लेख गरेको छ ।
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।