सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ । शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो।


शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन्। मृतक बालिका पनि केशरकी छोरी हुन् । जंगली च्याउको तरकारी खाएका उनीहरू बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो।

बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएकोछ । सल्यान बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ४८ वर्षीया भुपबहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली, २१ वर्षीया बुहारी सुशिला वली पनि जंगलबाट ल्याएर च्याउ खाँदा बिरामी छन्।