काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ ।
असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।
असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ ।
मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।