बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

काठमाडौं । काठमाडौंबाट बल प्रयोग गरी फोहोर बन्चरे डाँडा लैजान खोजिएपछि आइतबारबाट पुनः फोहोर लैजाने काम प्रभावित बनेको छ । स्थानीयले आइतबार दिनभर जसो बाटोमा अवरोध गरिरहे । साथै महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगरी फोहोर ल्याउन नदिने भन्दै राजनीतिक दलका नेतृत्वको हस्ताक्षरमा एक विज्ञप्ती जारी भएसँगै महानगरपालिकाका मेयर बालेन साह भने आक्रोसित बनेका छन् ।

उनले सामाजिक सञ्जालमा उक्त विज्ञप्ती राख्दै उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको बताएका हुन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा उनको आपत्ति छ । यसलाई उनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका हुन् । उनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन् ।

‘‍‍‍‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन’, बालेनले भनेका छन् ।

आइतबारदेखि दैनिक २५० देखि ३५० वटा गाडीले काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाने जानकारी गराएपछि आइतबार नै दुई स्थानमा अवरोध भएको र त्यसलाई समाधान गरेपछि धुनिवेशीका सत्तारुढ तीन दलले विज्ञप्ति जारी गरेर अवरोध गर्न खोजेको भन्दै बालेनले यसलाई विडम्बनापूर्ण बनेका छन् ।


‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापूर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ’ उनले भनेका छन् ।

उनले यी कामहरु झुक्याएर नगरेको भन्दै विगतमा गरेका सहमति कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताएका छन् । ‘यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो’ बालेनले भनेका छन् ।