माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत

काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने निश्चित भएको छ । दुई पार्टीबीच पार्टी एकतासम्मको सहमति रहेको छ । निर्वाचन आयोगले निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको जनाएको छ । जसमा यी दुई पार्टी एकल चुनाव चिन्हबाट लड्नेछन् । आयोग पदाधिकारीको बुधबार बसेको बैठकले दलहरूको दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार दर्ता स्वीकृत भएपछि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहनेछन् । दर्ताका लागि निवेदन दिएकामध्ये ७५ दलका आफ्नै चुनाव चिह्न रहनेछन् तर निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । आयोगले ती १२ दलका चारवटा चुनाव चिह्न कायम गरी दर्ता स्वीकृत गरेको छ । जसबमोजिम प्रतिनिधि सभातर्फ ७९ वटा चुनाव चिह्न कायम भएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी बाहेक नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीको समेत एकल चुनाव चिह्न कायम गरिएको छ । आयोगले सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीले समेत तालमेल गर्ने निर्णय गर्दै माग गरेको एकल चुनाव चिह्न स्वीकृत गरेको छ । नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाल पार्टी र नेपाल सुशासन पार्टीले तालमेल गरी नेपाल आमा पार्टीको चुनाव चिह्न कायम गरिदिन माग गरेको थियो ।