रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन

रुकुम । रुकुम पश्चिममा पहिरोमा परी आमा छोरीको निधन भएको छ । एक जना घाइते भएका छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते छिन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन् । पानी परेपछि उनीहरु रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए । सोही समयमा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको बताइएको छ । घटनापछि प्रहरी र स्थानीयले एक छोरीको उद्धार गर्न सकेका थिए ।